रुप्से, पाल्पा । केही दिन अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कर्णधार मावि रुप्सेका बिद्यार्थी रोजिन थापा सामुदायिक विद्यालय तर्फ पालिका प्रथम भएका छन । उनले ३.५८ जीपीए ल्याएका छन ।

२०८१ सालको एसइई परिक्षामा सामेल भएका कर्णधार मावि रुप्सेका ६ जना बिद्यार्थीहरुले ३ जीपीए माथि नतिजा ल्याएका छन् । माथागढी गाँउपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरु मध्ये वडा नम्बर २ रुप्से स्थित कर्णधार माविले सतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।

एसईइमा उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा विद्यालयले खुशीयाली र्याली तथा विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि माथागढी गाँउपालिका अध्यक्ष यम बहादुर चिदीले लगन, मिहेनत, अनुशासन र सक्रियतापुर्वक लाग्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण कर्णधार माविले साबित गरेर देखाएको बताउनु भयो ।

सफलताको मुख्य कारण बिद्यालयका प्रअ संगै शिक्षक कर्मचारीको लगनशीलता तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्षको सक्रियता रहेको पनि उल्लेख गर्नु भयो । सामुदायिक बिद्यालयहरुमा जताततै कर्णधार माविको चर्चा भएको भन्दै सतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा बधाई दिनु भएको थियो ।

प्रमुख अथिति चिदी, वडा नम्बर २ का वडाध्यक्ष बोम बहादुर ठाडा, पुर्वगाँउपालिका उपाध्यक्ष निर्मला भट्टराई लगायतले सफल भएका विद्यार्थीलाई सम्मान गर्नु भएको थियो ।

यस्तै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यानसिंह थापाले आफु अध्यक्ष बन्दा शुरुमै गरेको बाचा अनुसार जहिलेसम्म बिद्यालयले उत्कृष्ट नतिजा ल्याउन सकिदैन, तबसम्म फुलमाला टिका नलाउने बाचा गरेकोमा आज शिक्षकको प्रयास, विद्यार्थीको मेहनतले सफलता मिलेको भन्दै नगद १६ हजार पुरस्कार बिद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।

सोही अवसरमा बिद्यालय ब्यबस्थापन समितिका सदस्य मोहन थापा, प्रधान अध्यापक राजन अधिकारी लगायतका बिषयगत शिक्षकहरुले उत्कृस्ट अंक ल्याउने बिद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यानसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक समिर कोईरालाले गर्नु भएको थियो भने शिक्षिका मानवी सोमैले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम समापनसंगै खुशीयालीमा पन्चे बाजा सहित निकालिएको उत्सव र्यालीले गैराबारी, दद्रा, खहरेबजार, मान्के, दोहोरा, सोले लगायतका ठाँउ परिक्रमा गरेको थियो । पन्चे बाजा ज्ञानोदय आधारभूत बिद्यालयका साना साना बाबु नानुहरुले बजाएर सबैलाई मनोरन्जन प्रदान गरेर अचम्म पारेका थिए ।

माथागढीमा रहेका नमुना बिद्यालयहरुको रिजल्ट खस्किएको समयमा कर्णधार माविले पहिलो पटक ईतिहास रच्दै यो सफलता हात पारेको हो । यति बेला कर्णधार माविको सफलताले नाम चलेका बिद्यालयलाई गुणस्तरीय शिक्षाको लागि चुनौती थपिएको छ । उता सनराईज पब्लिक स्कुल रुप्सेले माथागढी गाँउपालिका भरिका सामुदायिक र सस्थागत दुवै तर्फका बिद्यालयलाई उछिन्दै गाँउपालिका प्रथम छात्र र छात्रा आफ्नो बिद्यालयको नाममा लेखाउन सफल भएको छ । सत प्रतिशत नतिजा निकाल्ने पालिकामा उत्कृस्ट जीपीए ल्याउने दुवै बिद्यालय वडा नम्बर २ रुप्सेमा संचालित रहेका छन ।