काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।
प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरूले एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रस्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैङ्गिक समानताको हिसाबले ऐतिहासिक कदम भएको बताएका छन् ।
एकल आमाले हुर्काएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयकमा गरिएको व्यवस्था सकारात्मक रहेको उनीहरूको भनाइ छ । केही सांसदहरूले विदेशी श्रीमानसँग विवाह गरेका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए । नागरिकता नभएकै कारण राज्यबाट वञ्चित नागरिकहरूको समस्याहरू प्रस्तावित विधेयकले हल गर्नेमा उनीहरूको विश्वास छ ।
नागरिकताको समस्या देशकै सबैभन्दा ठुलो समस्याको रूपमा रहेको छ । नागरिकताको सबैभन्दा बढी समस्या तराई मधेशका जिल्लाहरूमा रहेको छ । नागरिकता अभावकै कारण त्यहाँका कतिपय नागरिकले जग्गा किन्न नपाउने, बैँकमा खाता खोल्न र जागिर पनि खान नपाउने तथा राजनीतिक अधिकारबाट समेत वञ्चित हुनुपरेको थियो ।
नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था नागरिकता विधेयकमा गरिएको छ ।