दलबहादुर गुरुङ
सामाजिक सेवा र राजनीतिमा निरन्तर गतिशील भोवीसरा सारु मगरको स्थायी घर,पाल्पा–रम्भा गाउँपालिका वडा नं.२,फोक्सिङकोटको रानीबासमा छ । रानीबासमा होमस्टे सञ्चालन गर्न सक्रिय भूमिका निर्वाह गर्ने मूली नै भोवीसरा हुन् । उनी यतिबेला जिल्ला समन्वय समिति,पाल्पाकी सदस्य हुन् । २०७४ सालमा उनी रम्भा गाउँपालिकाको गाउँकार्यपालिका सदस्य थिइन् ।

सानै उमेरदेखि सामाजिक सेवामा समर्पित भोवीसराले सात कक्षासम्म पढेकी थिइन् । २०४३ मा तेजबहादुर सारुसँग मागी विहे गर्दा उनी १९ वर्षकी थिइन् । करिव पाँच वर्ष तेजबहादुरसँग जोबान काटेपछि उनका श्रीमान् सधैंका लागि मास छर्न गए । त्यतिबेला तेजबहादुरको उमेर २२ वर्षको थियो । विहेपछि पहिलो सन्तान कमल र विहेको ढाइ वर्षपछि छोरी शोभा जन्मिसकेकी थिइन् । कान्छो छोरो ताराले बाबाको अनुहार देख्न पाएनन् ।

घरका साहिँला छोरा तेजबहादुरले कक्षा १० पास गरेतापनि एसएलसी पूरा गर्न भ्याएनन् । विहेका पाँच वर्षीय यात्रा सुखमय र प्रेमिल थिए तेजबहादुर र भोवीसराका । जिन्दगीको रथ लामो समयसम्म गुडाउन पाएनन् । चुँडेको चङ्गामा छुटेको लट्टाईजस्तै भइन् भोवीसरा । तैपनि हिम्मत हारिनन् । हार खाइनन् जीवनको अविरल यात्रामा । तीन सन्तानको पालनपोषण र ससुराबाको स्याहार,सुसार र देखभाल गर्दै जीवनको यात्रामा उकालो लागिरहिन् ।

भोवीसराको माइतीगाउँ फोक्सिङ्गकै कोटथर थियो । उनका बाबा पल्टनका लाहुरे थिए । पेन्सनपछि गाउँ आएर पञ्चायतकालीन समयमा वडाध्यक्ष भए । पछि काङ्ग्रेसको राजनीतिमा सक्रिय भए । भोविसरालाई स्कुल पढाउनका लागि उनका बाबा टीकाराम सारुले अथक मिहिनेत गरे । गाउँलेहरुका हजार वचन सहेर पनि छोरीलाई पढाउनु पर्छ भनेर सक्रिय भए । गाउँलेहरुले छोरी पढाएर लाहुरे बहुलायो भन्थे रे ! भोवीसरा भने स्कुल पढ्न पाएकोमा खुसी थिइन् तर विहेको कारण आफ्नो पढाईलाई अघि बढाउन सकिनन् ।

३६ सालतिर छोराछोरी बरोबरी,छोरीलाई शिक्षा दिनुपर्छ भन्ने कुरा गाउँमा खुबै चलेको रहेछ । त्यो कुरा गाउँमा भूमिगतरुपमा बसेका कम्युनिष्ट नेताहरुले चर्को नाराका रुपमा उठाउने गर्थे रे । यो कुरा भोवीसरालाई मन परेर आफू कम्युनिष्ट पार्टीप्रति झुकाव राखेको सुनाइन् । उनका श्रीमान् तेजबहादुरले भोवीसरालाई टाठी र बाठी बनाउनका लागि पुस्तकहरु किनेर ल्याइदिने,पढ्न सघाउने र समाज परिवर्तन गर्ने मान्छे बनाउने हो भनेर कम्मर कसेका थिए रे ! तर भोवीसराको सामाजिक सेवा र राजनीतिको डोरी समाएर समाजलाई परिवर्तन गरेको देख्नै भ्याएनन् । घरतिर,ससुरा समेत वडाध्यक्ष भएको कारण उनलाई राजनीति र समाजसेवा गर्न कसैले छेकेन ।

भोवीसराले श्रीमान् र सासुसँगै बितेपछि साना सन्तानलाई बोकेर खेतीबारी बाँझो राखिनन् । ससुराको नैतिक र भौतिक सहयोगमा सन्तानको पालनपोषण,शिक्षादीक्षा,स्याहारसुसार र पढाईलेखाईमा सक्दो योगदान गरिन् । आफूले सातकक्षा पढ्दै गर्दा माइतीघरमा बाबासँग निवेदन,तमसुक,मिलापत्र,अदलपत्र र भरपाई लेख्न सिकेकी थिइन् । यो नै यतिबेला उनका लागि जीवनोपयोगी शिक्षा बनेको छ ।

जीविकोपार्जनका लागि सिलाईकटाई सिकिन,गाउँले दिदीबहिनीहरुलाई सिकाइन् । तालिम दिइन् । निरक्षर दिदीबहिनीहरुलाई प्रौढ शिक्षामार्फत् साक्षर बनाइन् । गाउँमा आमा समूह गठन गराई बचत गर्ने बानी बसालिन् । कृषिकर्ममा सक्रिय बनाएर महिलाहरुलाई आम्दानी बढाउन उत्प्रेरित गरिन् । बस्तुभाउ पाल्न प्रेरित गरिन् । भोकै रहन र अल्छी बस्नबाट सबैलाई टाढा राखिन् । यो नै भोवीसराको क्रान्तिकारी काम थियो । भोवीसराको कडा कुरा र नरम व्यवहारले नै समाज परिवर्तनमा सहयोग मिलेको छ ।

भोवीसराले आफूले एसएलसी पास गर्न नभ्याएपनि छोरी शोभालाई नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गराई विहे गरिदिइन् । जेठो छोरो यतिबेला न्यूजील्याण्ड छन् । कान्छोले कलाकारिता पेसा अपनाएका छन् । फिल्म र नाटकमा उनको रुचि छ । विजय लामासँग गोर्खा वारियार फिल्ममा अभिनय गरेका छन् ।

भोवीसराले श्रीमानलाई दुःखमा धेरै सम्झिरहन्छिन् । लामो समयसँगै नरहने भएकै कारणले होला दिल असाध्यै बसेको कुरा सुनाउँदै थिइन् भोवीसराले । जीवनको कथा सुनाइरहँदा उनका आँसु,मोतीदानाजस्तै आँखामा टिल्पिलाई रहेका थिए । भावुक भएर आफ्ना पीडादायिक जीवनकथा सुनाइरहेकी थिइन् । तैपनि उनको बोलीमा वेदनामात्र होइन संघर्षका ज्वाला दन्किरहेका थिए ।

विषाक्त खानाका कारण गतिलो उपचार नपाएपछि आफ्ना श्रीमानलाई बचाउन गल्याङ्ग र मीसन अस्पताल पुराउन नपाउँदै सदाका लागि त्याग्नुपरेको कारण गाउँमै स्वास्थ्य चौकीको खाँचो महसुस गरेकी छिन् । सोही समयमै उनले आफ्नी सासुलाई समेत गुमाइन् । कारुणिक कथा बोकेर जीवनका ५८ वर्षीय यात्रामा भोवीसरा सारु निरन्तर अघि बढिरहेकी छिन् । अविचलित,अविछिन्न यात्राको सारथी भएको छ ,रानीबास गाउँ र गाउँलेहरु । गाउँकै खम्बा बनेकी छिन् भोवीसरा । सबैका आदरणीय र प्रिय बनेकी छिन् उनी ।

गाउँमा होमस्टे खुलेपछि गाउँमै बस्ने परम्परा बसेको छ । सांस्कृतिक चालचलनलाई संरक्षण गर्ने संस्कार विकास भएको छ । गाउँमै स्वरोजगारको अवस्था सिर्जना भएको छ । रैथाने उत्पादनले बजार पाएको छ । गाउँमा नयाँ पाहुनाहरु आएका छन् । आफ्नो गाउँको परिचय दिन भ्याइएको कुरा भोवीसराले सुनाइन् । होमस्टेले फोक्सिङको रानीबासलाई देश,दुनियाँका अघि प्रचारप्रसार गरी चिनाएको छ ।