तानसेन, पाल्पा । नेपालकै पुरानो नगरपालिका अन्तर्गत पर्ने तानसेन नगरपालिका पाल्पाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
वि.सं २०१५ सालमा स्थापना भएको तानसेन नगरपालिकाको १७ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड ५० लाख ९६ हजार ८ सय ७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको हो । बजेटमा कृषि, पर्यटन, रोजगार र पूर्वधारलाई प्रथामिकता राखेको छ ।
वित्तिय व्यवस्थातर्फ ८५ लाख समेत गरी चालुखर्चमा ६२ करोड ७ लाख ३५ हजार अर्थात् ४२ दशमलव ३७ प्रतिशत र पुँजीगत खर्चमा ८४ करोड ४३ लाख ६१ हजार अर्थात् ५७ दशमलव ६३ प्रतिशत रहेको छ । आन्तरिक राजश्व १७ करोड १४ लाख ८५ हजार अनुमान गरिएको बजेटमा संघ, प्रदेश तथा विभिन्न दातृनिकाय र साझेदार संघ संस्थाको सहयोग, अनुदान तथा राजस्वलाई समेटिएको छ ।
सभामा उपप्रमुख प्रतिक्षा गाहाले विनियोजन विधेयक २०८२, हेमन्तराज शाक्यले आर्थिक विधेयक २०८२, महेश्वर श्रेष्ठले नगर प्रज्ञाप्रतिष्ठान, दलित सशक्तिकरण र विकास, लैड्ढिक समनता तथा सामाजिक विकास विधेयक, सागरमान महर्जनले तानसेन पर्यटन विकास लगायतका विधेयक पेश गर्नु भएको थियो ।