माथागढी, पाल्पा । माथागढी गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६३ करोड ७४ लाख ९२ हजार ८ सय ५४ रुपैंया बराबरको अनुमानीत आयव्यय प्रस्तुत गरेको छ ।
प्रस्तुत बजेट मध्ये चालु तर्फ ४३ करोड ८९ लाख ९२ हजार ८ सय ५४ रुपैँया र पुँजीगत तर्फ १९ करोड ८५ लाख रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजश्व मार्फत १ करोड ६४ लाख ४५ हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा ३ करोड ५८ लाख, स्वास्थ्यतर्फ २ करोड ७१ लाख, खानेपानीतर्फ १० लाख, लक्षित वर्ग, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ १० लाख विनियोजन गरेको छ । यस्तै यूवा तथा खेलकुदतर्फ २३ लाख, कृषि तथा पशुपंक्षी विकासतर्फ १ करोड ६७ लाख ५० हजार, सडक तथा यातायात र भवन तथा आवास सहित पुर्वाधार तर्फ १० करोड बजेट विनियोजन गरेको छ ।

विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, उद्योग, नवप्रवर्तन तथा उद्यमशिलता विकास र रोजगार प्रवर्धन कार्यक्रमहरुलाई समेत पालिकाले आफ्नो बजेटमा समावेश गरेको छ । विद्यार्थीको पढाईलाई ध्यानमा राख्दै गाउँपालिकाले सुत्केरी महिला शिक्षकले पाउने ९८ दिनको विदामा सट्टा शिक्षक व्यवस्थापन गर्ने नीति समेत लिएको छ । यसको लागि आवश्यक बजेटको समेत विनियोजन गरिएको पालिका अध्यक्ष यमबहादुर चिदीले बताउनु भयो ।