खुमबहादुर पौडेल
हुमिन, पाल्पा । रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत रम्भा गाउँपालिकाको मार्सिडाँडामा प्रथम कोदो रोपाइ महोत्सव सम्पन्न भएको छ । कृषकहरूलाई कोदो खेतीतर्फ आकर्षित गरि आयआर्जन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

महोत्सवमा मार्सिडाडा महिला समुहका सदस्यहरु, उपस्थित अतिथिहरु र कार्यक्रमका सहभागीहरुले सामुहिक कोदो रोपाइ गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले परम्परागत रैथाने बाली मध्ये कोदो बाली पहाडी भु-बनोटमा अति महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता रैथाने खेतिबालिको संरक्षण र सम्बर्द्धनमा गाउँपालिकाले जोड दिएको बताउनुभयो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले कुनै बेलामा हेलाको खेती जस्तो भएको कोदोबालीको महत्त्व दिनानुदिन बढेर गएको उदाहरण प्रस्तुत गर्नु भयो । उहाँले अरु खानेकुराको तुलनामा कोदो स्वास्थ्यबर्धक समेत रहेको उल्लेख गर्नु भयो ।
महोत्सवका अवसरमा स्थानीय बासिन्दाहरुले असारे गीतका साथै खेती प्रणाली सम्बन्धि गीत र नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा रम्भा गाउँकार्यपालिका सदस्य भोज बहादुर बिक, बिमला गहतराज, नानुमाया गन्धर्व र वडा सदस्य बिष्णुमाया पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।

रम्भा गाउँपालिका वडा नंं ४ हुमिनको आयोजना र मार्सिडाँडा महिला समुहको ब्यबस्थापनमा कार्यक्रम भएको हुमिनका वडा कार्यालय सहायक मिलन काफ्लेले बताउनुभयो । कोदो रोपाइ महोत्सव हुमिनका कृषि प्राबिधिक नबिना गैरेको संचालन र रम्भा ४ हुमिनका वडा अध्यक्ष कृष्ण बहादुर रायमाझीको अध्यक्षतामा चलेको थियो ।
