तानसेन, पाल्पा । तानसेन नगर प्रज्ञा प्रतिष्ठान, तानसेन नगरपालिका पाल्पाको आयोजनामा दीर्घ सेवा सम्मान तथा उत्कृष्ट कृति पुरस्कार अर्पण समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट पठाइएका कृतिहरू मध्येबाट उत्कृष्ट कृतिका लेखक डाक्टर श्रीधर खनालको कृति र दीर्घ सेवा सम्मान पुरस्कार पाल्पाली ढाका उद्यमी पूर्ण माया महर्जनलाई नगर ६८ हजार, दोसल्ला र प्रमाणपत्रले विशेष रूपमा सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सामाजिक, साहित्य, कला र संस्कृति जस्ता सृजनशील क्षेत्रको महत्त्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाले यस्ता कार्यकमहरूले नगरलाई सिर्जनात्मक उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै उपप्रमुख प्रतिक्षा सिङ्जालीले यस प्रकारको सम्मानले सिर्जनशील प्रतिभाहरूलाई थप प्रेरणा दिने र स्थानीय सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि नगर प्रज्ञा प्रतिष्ठानले ३५ जना सदस्यहरूलाई सम्मान गरेको थियो ।