दिलबहादुर खन्गाहा
निस्दी, पाल्पा । निस्दी गाउँपालिका वडा नं. ७ पाल्पा स्थित ज्यामिरे स्वास्थ्य चौकीको लुम्बिनी प्रदेश माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्नुभएको छ।

स्वास्थ्य चौकी उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री सारुले ग्रामिण क्षेत्रमा पनि नागरिकहरुले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण तयार हुँदै गएको बताउनुभयो। उहाँले स्वास्थ्य चौकीको सुदृढीकरणका लागि आवश्यक सहयोग र स्रोतसाधनको व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकीको स्थापनाले वडाबासीलाई सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै भन्नुभयो । यस्तै उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने प्रदेश सरकार र स्थानीय तहको सहकार्यलाई सकारात्मक संकेत भन्दै धन्यवाद व्यक्त गर्नुभयो।

विसं २०७३ असार २६ गते यस चौकीका लागि १ करोड ३९ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो । उद्घाटन कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष मुक्त बहादुर पाटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।