बन्दिपोखरा, पाल्पा । किसानहरुलाई आत्मनिर्भर गराउने उद्देश्य सहित तानसेन नगरपालिका वडा नं. ११ बन्दिपोखरा पाल्पाका किसानहरुलाई गोला सहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको छ ।
किसानहरुलाई पाँच हजार कुखुराको चल्ला शत प्रतिशत अनुदानमा र २२ वटा गोला सहित मौरीको घार ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा बोल्दै तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कृषिलाई उन्नत बनाउने विषयमा तानसेन नगरपालिका योजनावद्ध रुपमा अघि बढिरहेको बताउनु भयो ।
तानसेन नगरपालिका नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले कृषिको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन सवैको ध्यान पुग्नु पर्ने बताउनु भयो । तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न यस प्रकारको कार्यक्रम फलदायी बन्ने उल्लेख गर्नु भयो । यस्तै रेडा पाल्पाका निर्देशक लिलाबहादुर कार्कीले आयआर्जन वृद्दि र सामाजिक सशक्तिकरण गर्न किसानमुखी कार्य गरिएको बताउनु भयो ।
तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हेफर नेपालको प्राविधिक सहयोग, तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडा पाल्पाको सहजीकरणमा कार्यक्रम गरिएको नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनु भयो । हेफरले चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँबाट कृषकमुखी कार्य गर्दैछ ।