झडेवा, पाल्पा । माथागढी रुपन्देही सम्पर्क समाजले माथागढी ४ झडेवाको स्वास्थ्य चौकीमा सञ्चालन गरेको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ३ सय २८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरि औषधी समेत उपलब्ध गराईएको थियो । जनरल फिजिसियन, महिला रोग, हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरीनुका साथै दात, मुख र गिजा सम्बन्धी उपचार र परामर्श सेवा उपलब्ध गराईएको पालिकाका प्रबक्ता शंकर दर्लामी मगरले बताउनु भयो ।

शनिबार आयोजित स्वास्थ्य शिविरको माथागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तब्य राख्दै प्रमुख अथिति समेत रहनु भएका घिमिरेले जीवन स्वस्थ भए सबै कुरा गर्न सम्भव हुने बताउनु भयो । उहाँले स्वास्थ्य नै जीवन भएकोले यसरी समुदाय लक्षित गरि सम्पर्क समाजले स्वास्थ्य शिविर चलाएर उदारणीय कार्य गरेको बताउनु भयो ।
त्यस्तै माथागढी गाँउपालिकाका प्रबक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष शंकर दर्लामी मगरले स्वास्थ्य उपचार जस्तो मानवीय कार्यका लागि सम्पर्क समाजले माथागढीको झडेवालाई छनोट गरि निशुल्क स्वास्थ्य शिबिर संचालन गरेकोमा आभार व्यक्त गर्नु भयो ।

शिविरको सहजीकरण वडा नम्बर ४ झडेवा पाल्पाले गरेको थियो भने प्राबिधिक सहयोग बुटवल हस्पिटल प्रालि र ओम माथागढी डेन्टल क्लिनिकले गरेको थियो । यस्तै औषधीको सहयोग नेपाल जेस्युइट सोसाइटी घोरबन्दा पाल्पाले गरेको थियो ।
पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजका अध्यक्ष राजन नेपालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष दिएस भट्टराईले र सञ्चालन सचिव हरि पोख्रेलले गर्नु भएको थियो ।