रामपुर, पाल्पा । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ ।
भेलामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि नगरपालिकाले बालमैत्रीस्थानीय शासन लागु गर्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकाको अधिकारको पूर्ण प्रत्यभूति दिलाउन नगरपालिका प्रतिवद्ध भएर अघि बढिरहेको समेत बताउनु भयो ।
रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले रामपुर नगरपालिकालाई कस्तो बनाउने भन्ने कुरा बालबालिकाको क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकाको संरक्षण संगै अधिकारको पूर्ण प्रत्याभूति दिलाएर अघि बढ्न नगरपालिकाले बालमैत्री स्थानीय शासन लागु गर्न प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बालबालिकाहरुको सक्रिय सहभागीताको लागि बालसंजालले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । यस्तै रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले सभ्य र समृद्ध समाज निर्माणमा बालबालिकाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
भेलामा वडा स्तरीय बाल सञ्जालका पदाधिकारी बालबालिकाहरुले बालबालिको हकअधिकार र समस्या तथा नगरपालिका ले बालबालिकाको क्षेत्रमा गर्ने सहयोग लगायतका विषयमा अपेक्षा एवं सुझाव राखेका थिए ।
नगरभेलाले सारदा प्रसाद श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नगर बाल सञ्जाल समेत गठन गरेको छ । १० वटै वडामा गठन भएको वडा स्तरीय बाल संजालको पदाधिकारीहरुको उपस्थितिमा गठित उक्त सञ्जालको उपाध्यक्षमा विपना नेपालीर अंगिता खनाल, सचिवमा सिमरन केसी र कृष्ण गौतम, सहसचिवमा अञ्जली आचार्य तथा कोषाध्यक्षमा मुना अस्लामीलाई चयन भएका छन् ।
समितिको सदस्यहरुमा सलिना थापा, आइस्मा थापा, रन्जु राना, प्रिन्स कुँवर, सुवास पोखरेल, अनुप ओस्ती, प्रसान्त बस्याल, आबस श्रेष्ठ, सनराइज बास्तोला, सुजता नेपाली, शाहिद शेख, सुहाना भट्टराई, सन्ध्या विक र रिजन खाँणलाई चयन गरेको छ । नगरपालिकाले २०८३ मंसिर ५ गते भित्र बालमैत्री स्थानीय शासन लागु गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रम अघि बढाईरहेको छ ।