एवत सारु
रानीबास, पाल्पा । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको रानीबासमा रहेको आदिवासी जनजाति सङ्ग्रहालयमा भगवान गौतम बुद्धको मुर्ति स्थापना गरिएको छ ।
शान्तिका दूत भगवान गौतम बुद्धले फैलाएको ज्ञानलाई आत्मसात गर्दै विश्व शान्तिका लागि पहल गर्ने लक्ष्य सहित भगवान गौतम बुद्धको मुर्ति स्थापना गरिएको हो । सुनचाँदी व्यवसायी संघ पाल्पाको आर्थिक सहयोगमा मुर्ति स्थापना गरिएको हो ।
झण्डै ५ फिट उँचाई तथा ४ फिट चौडाई भएको मुर्ति स्थापना कार्यले जनजाति संग्रहालयमा सुनमा सुगन्ध थपिने सुनचाँदी व्यवसायी संघ पाल्पाका उपाध्यक्ष अशोक कुमार विश्वकर्माले बताउनु भयो ।
कार्यक्रममा रानीबास गाउँका गाउँलेहरुका साथै सुनचाँदी व्यवसायी संघ पाल्पाका पदाधिकारीहरु तथा परिवारजनको सहभागीता रहेको थियो ।
स्थानीय पञ्चे बाजा तथा झाम्रे नाच सहितको बाजागाजा टोलीले मुर्ति दाताहरुलाई स्वागत गरिएको थियो । संग्राहलयको बिचमा रहेको भागमा भन्ते महेन्द्र ज्यूले मन्त्रोच्चारण गरि मुर्ति स्थापना गरिएको हो ।
पाल्पा सुनचाँदी व्यवसायी संघले केही हप्ता अगाडि रानीबास होमस्टेमा घुम्न आउँदा मुर्ति स्थापर्ने विचार आएको सुनचाँदी संघका अध्यक्ष प्रेमलाल पौडेलले बताउनु भयो । मुिर्त स्थापना पछि होमस्टे र संग्रहालयको थप प्रवर्धन र विकास हुने विश्वास लिइएको छ ।