राजकुमार आले
पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिकाका ६ वटा वडामा रहेका परियोजना अन्तर्गत आवद्ध सहकारीहरुको लागि एक दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्दको सहजिकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत योजना अनुसारको कार्यक्रम अन्तर्गत यो भ्रमण लगिएको हो । समुन्नत समाज निर्माण र आयआर्जन गर्ने मुल उद्देश्य लिई पशु र कृषिमा भएको प्रगतिको अवलोकन गर्ने उद्देश्यले भ्रमण तानसेन नगर पालिका वडा नं १३ बौघागुम्बामा रहेको मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थामा लगिएको थियो ।

भ्रमण टोलीहरुलाई स्वागत गर्दै मिलनसार सहकारीका अध्यक्ष कमला भण्डारीले हाम्रो सहकारीले शुरुमा बाख्राबाट शुरु गरेता पनि अहिले कृषि उपज र दुध संकलन गरी त्यसको बजारीकरणमा अगाडि बढेको बताउनुभयो । उहाँले भन्नु भयो महिला सहकारीलाई शुरुमा चुनौति र समस्या आएपनि गर्छु भनि हिम्मत गरे सफल भइन्छ ।

त्यस्तै, पूर्वखोला गाउँपालिका पशु शाखा प्रमुख धन बहादुर दर्लामीले सहकारी सहकारी बीच मिलेर काम गरे भने जस्तो सफलता हुने बताउनु भयो । उहाँले भन्नु भयो पालिकाले परियोजना मार्फत गरेको लगानी फलदायी हुनेमा म विस्वस्त छु । त्यस्तै कार्यक्रममा समाज उत्थान सहयोग केन्द्र नेपालका सम्बद्ध व्यक्ति विष्णु जि.सी, कार्यक्रम संयोजक राज कुमार आले लगायतले सहकारी बचिको समन्वयले बाख्रा तथा कृषि उपजहरुको बजारीकरणमा कुनै समस्या नहुने विचार राखेका थिए ।

भ्रमणमा सिलुवाका मनकामना सामाजिक उद्यमी महिला बहुउद्देश्यीय सहकारी संस्था, जल्पाको शुभसन्देश महिल कृषि सहकारी संस्था, रिङ्गनेरहको नवप्रभात सामाजिक उद्यमी महिला सहकारी संस्था, देविनगरको देविनगर महिला कृषि सहकारी संस्था, विरकोटको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था र हेक्लाङ्गको हेक्लाङ्ग कृषि बहुउद्देश्यीय सहकारी संस्था गरी संस्थाका अध्यक्ष, व्यवस्थापक, लेखा समिति संयोजक र प्रतिनिधीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

यस भ्रमणमा २८ जना सहभागी रहेका थिए । सहभागिहरुले यस भ्रमणमा मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध सदस्यहरुले गरेको पशु मा विशेष गरि बाख्रापालन र कृषि क्षेत्रको प्रत्यक्ष अवलोकन, सहकारीको संकलन केन्द्र, तरकारी धुने मशिन लगायतका कुराहरुको प्रत्यक्ष अवलोकन गरेका थिए ।