तानसेन, पाल्पा । सिपमुलक तालिम अन्तर्गत तानसेन नगरपालिका पाल्पाले नगपालिका भित्रका २० जना द्वन्द्व पीडितहरुका लागि आधुनिक कृषि सामग्री वितरण गरेको छ ।
कृषि सामग्री वितरण कार्यक्रमका प्रमुख अथिति तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहले द्वन्द्व पीडितका पीडा सम्बोधनका लागी पीडित लक्षित कार्यक्रम ल्याएको बताउनुभयो । नगरका १४ वटै वडामा नगरपालिकाले विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गरी नगरबासीहरुलाई आत्मनिर्भर बनाउन लागीएको समेत बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले द्वन्द्व पीडितलाई रोजगार र आय आर्जनसँग जोड्न सिपमुलक अन्तर्गत व्यवसायीक खेतीसंग जोड्न कृषि सामग्री वितरण गरेको बताउनुभयो।
सामग्री हस्तान्तरण गर्नुहुँदै कार्यक्रमका अध्यक्ष नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले कृषिमा व्यावसायिकता तथा कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले द्वन्द्व पीडितहरुका लागि छुट्टाइएको बजेटबाट आधुनिक कृषि सामग्री निशुल्क उपलब्ध गराइएको बताउनुभयो ।
सोहि अवसरमा नगरपालिकाभित्र फुलखेती गर्ने किसानहरुसँग अर्न्तकृया समेत गरिएको थियो ।फुलखेती विस्तारका लागि के गर्न सकिन्छ, बजारीकरणको अवस्था, चुनौती लगायतका विषयमा छलफल भएको थियो । अर्न्तकृयामा बोल्ने बक्क्ताहरुले फुलखेती विस्तार भन्दा पनि बजारीकरणका लागि चुनौतीको रहेको बताएका थिए।