देवीनगर, पाल्पा । भिमसेन प्राथमिक विद्यालय देवीनगर पाल्पामा शैक्षिकसत्र २०८२ को पहिलो अभिभावक भेला सम्पन्न भएको छ ।

भेलामा विद्यालयको शैक्षिक उपलब्धि वृद्धि तथा समग्र पक्षको विकासमा शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध तथा समन्वय लगायतको बारेमा छलफल एवं अन्तरक्रिया गरिएको प्रधानाध्यापक राधा सिकेले बताउनु भयो ।

भेलामा सहभागी अभिभावकहरुले विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि आफुहरु सदैव लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालय प्रति देखाएको चासो, समन्वय र सहयोगले विद्यालयको व्यवस्थापनमा अझ प्रभावकारीता थपिने अपेक्ष सवैले गरेका छन् ।

आफ्नो छोरा छोरी पढ्ने विद्यालय प्रति चासो राखेर भेलामा उपस्थित हुनु हुने सवैलाई विद्यालयले हार्दिक आभार एवम् धन्यवाद व्यक्त गरेको छ । पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगरको मुण्टुङ्गमा सञ्चालित यो विद्यालयले पछिल्लो समय तिव्र गतिमा प्रगति गर्दै अघि बढिरहेको छ भने विद्यार्थी संख्यामा पनि बृद्धि भएको छ ।