रामपुर, पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ पाल्पाको आयोजनामा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

भेलामा वडा भित्रका ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरी वडा स्तरिय जेष्ठ नागरिक सन्जाल गठन, सम्मान तथा शिविर मार्फत स्वास्थ्य परिक्षण उपचार तथा ‌ओषधी वितरण गरिएको थियो । भेलामा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक जिउँदो भगवान भएको बताउँदै उहाँहरुको उचित सम्मान गर्नु नगरको दायित्व रहेको बताउनुभयो । थापाले अभिभावकलाई हेला गर्ने सन्तानको कहिल्यै भलो नहुने बताउँदै जेष्ठ नागरिकको सल्लाह अनुसार अघि बढ्न सके जीवनमा कहिल्यै दुःख नपाईने बताउनुभयो ।

रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सदा आशिर्वाद दिईरहनु हुने जेष्ठ नागरिकहरुको सम्मानमा कार्यक्रम गरिएको बताउनुभयो । उहाँले वडामा भएका विकास तथा कार्यक्रमको गतिविधिसंगै जेष्ठ नागरिकको लागि संचालन गरिएका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य मायाँ नेपाली, रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष क्याप्टेन हिमाल मल्ल, रामपुर नगरपालिका सल्लाहाकार फणेश्वर गौतम, जेष्ठ नागरिक मन्च रामपुर ६ का अध्यक्ष कृष्ण प्रसाद अर्याल लगायतका बक्ताहरुले जेष्ठ नागरिकहरुको सम्मानमा वडाले गरेको कामको प्रशंसा गर्नु भएको थियो ।

भेलाले केशर बहादुर खाँणको अध्यक्षतामा वडा स्तरीय जेष्ठ नागरिक संजाल गठन गरेको छ । जेष्ठ नागरिक वडा संजालको उपाध्यक्षमा सरस्वती डोटेल, सचिवमा कृतिनाथ गौतम, कोषाध्यक्षमा लक्ष्मी तिवारी रहनु भएको छ । रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।