पूर्वखोला, पाल्पा । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा पूर्वखोला गाउँपालिका पाल्पाको समन्वयमा सञ्चालित विशेषज्ञ शिविरबाट विभिन्न प्रकारका रोगबाट पीडित ४ सय ५१ जना बिरामीले सेवा लिएका छन् ।
पूर्वखोलाको रिङ्नेरहमा सञ्चालित उक्त विशेषज्ञ स्वास्थ्य शिविरमा छालासम्बन्धी विभिन्न रोग भएका १ सय २१ जनाले जाँच गराएका थिए । यस्तै मानसिक समस्या देखिएकाहरु ४१ जना, स्त्री रोगसम्बन्धी ६६ जना, फिजिसियन १ सय ८२ जना र दाँतका बिरामी १ सय ५४ जनाले सेवा लिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनु भयो ।
शिविरमा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भौगोलिक विकटता र विपन्नताका कारण जिल्ला र प्रादेशिक अस्पतालमा जान नसक्नेहरुका लागि यो शिविर महत्वपूर्ण भएको बताउनु भयो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले विशेषज्ञसहितको स्वास्थ्य शिविरले उपचार लिन जान नसक्नेहरुका लागि फाइदा पुगेको बताउनु भयो ।
भूपू सैनिक डेन्टल प्रालि र सीएमसी नेपालले व्यवस्थापन गरेको शिविरमा स्त्रीरोग विशेषज्ञ डा. शिला ढकाल, दन्तरोग डा. सृष्टि जीसी, डा. प्रविना कँवर, डा. दुर्गा सुर्खाली, मनोपरामर्शदाता शान्ति कामु लगायत दर्जन बढी चिकित्सकले सेवा दिएका थिए । शिविरमा रिङ्नेरह, ज्यामिरे, जल्पा, बीरकोट, देवीनगर लगायतका स्थानबाट विशेषज्ञ सेवा लिन बिरामीहरु पुगेका थिए ।