पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पालाई पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप दिगोपना सुनिश्चितता र पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिएको छ । घोषणा सभामा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा सहितको पालिका प्रतिनिधिहरुलाई सो घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको हुँदा स्थानीय तह र स्वास्थ्य शाखाहरुले सोही अनुसारको सेवा दिनुपर्नेमा जोड दिनु भयो। उहाँले मानिस स्वस्थ भएमा मात्रै उसले शिक्षा लिन र समाजको विकासमा लाग्न सक्ने भएकाले स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्यमा सचेत बताउन सवै पक्षहरु लाग्नु पर्ने बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले मानिस हरेक क्षेत्रमा स्वस्थ रहेर मात्रै समग्र क्षेत्रको विकास गर्न सकिने उल्लेख गर्दै स्वास्थ्यकर्मीको व्यवहारदेखि सामाजिक पद धारण गर्ने व्यक्ति तथा सबै क्षेत्रका मानिसहरु सामाजिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने बताउनु गर्नु भयो ।

गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले पालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको अघि बढेको जानकारी दिनु भयो । यस्तै उपाध्यक्ष भागिरथी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ लगायतले गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्दै आएको उल्लेख गर्दै सोको निरन्तरताका लागि सबै पक्षको सहकार्य जारुरी रहेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्यकर्मी र जनप्रतिनिधि तथा नागरिकको सहयोगमा पालिकाकालाई पूर्ण संस्थागत प्रसूति, खोप र पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्न सफल भएको बताउदै सवैलाई धन्यबाद दिनु भयो । शाखा प्रमुख ढकालले गाउँपालिका भित्रको स्वास्थ्य सेवाको अवस्था, प्रसूति सेवा, खोप, किशोर किशोरी मैत्री सेवा र पोषण मैत्री स्वास्थ्य संस्थाका विषयमा प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सबै स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।