विष्णु जिसी
माथागढी, पाल्पा । माथागढी गाउॅपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी र वडा नं.४ झडेवा पाल्पामा सञ्चालित चप्पल बनाउने सीप विकास तालिम सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालित उक्त तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले तालिमका सहभागीहरुले स्थानीय स्तरमै चप्पल बनाउने सीप सिकेर आर्थिक रुपमा आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेको बताउनु भयो ।
उहाँले गरिवी निवारणका लागि शिक्षा, स्वास्थ्य र आत्मनिर्भरका विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्न पालिकाले योजना बनाएर नै अघि बढिरहेको पनि उल्लेख गर्नु भयो ।
वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थी र वडा नंं ४ का वडाध्यक्ष शंकर दर्लामीको अध्यक्षतामा सम्पन्न तालिमका सहभागीहरुले आफुहरुले व्यवहारिक रुपमै सीपमुलक तालिम लिन पाएकोमा खुशी व्यक्त गरेका थिए ।
तालिम समापन कार्यक्रममा माथागढी गाउॅपालिकाका उपाध्यक्ष बिष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, कार्यपालिका सदस्य लिला चिदी,रुकुमी सुनारी तथा वडा नं. १,२ र ३ का वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।