रामपुर, पाल्पा । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भएसंगै रामपुर नगरपालिका पाल्पालाई पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे लगायतको टिमलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नु भएको थियो । उक्त कार्यक्रमकै अवसरमा रामपुर नगरपालिका वडा नं. १ लाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा समेत घोषणा गरिएको छ ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले जनताको स्वास्थ्य र औसत आयुको लागि पूर्ण मात्राको खोप अपरिहार्य रहेको बताउनुभयो । भौतिक पूर्वाधारको विकासले मात्र विकासको सुचक पुरा नहुने बताउदै खनालले राज्यले स्वास्थ्य क्षेत्रमा खर्च गरेको ठूलो धनराशीलाई सामान्य रुपमा नलिन आग्रह समेत गर्नुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले स्वास्थ्यका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि जोड दिने बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितताको लागि जिम्मेवार भएर निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध समेत गर्नुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्मरण गर्दै यस वर्ष रामपुर नगरपालिकासंगै पाल्पाका ८ पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरी सकिएको बताउनु भयो । उहाँले पाल्पामा चालु आर्थिक वर्ष भित्र कुनै पनि महिला घरमा प्रसुति हुनु नपरेको तथ्याङ्क प्रस्तुत गर्दै पाल्पालाई पहिलो संस्थागत सुत्केरी युक्त जिल्ला घोषणाको तयारी भैरहेको समेत बताउनु भयो ।

रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ५ सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार ९७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क प्रस्तुत गर्नु भयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र रामपुर नगरपालिकाकाका नर्सिङ्ग अधिकृत पुनम धितालको सञ्चालनमा भएको हो ।