रामपुर, पाल्पा । “सुखी समृद्ध , सुसंस्कृत शहर : समुन्नत रामपुर, हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाले आयोजना गरेको १३ दिने हस्तकलाका सामाग्री निर्माण (पोते, माला तथा चुरा बनाउने) तालिम सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामपुर नगरपालिका उप-प्रमुख बालकुमारी थापाले तालीम व्यावसायिक र महिलाहरुको आय आर्जनको श्रोत बनोस भनेर हस्तकला तालिम प्रदान गरिएको बताउनु भयो।

उहाँले तालिम लिएका दिदिबहिनीहरुले उत्पादन गर्ने चुरा पोतका सामान रामपुर नगरपालिकाको उप-प्रमुख कोशेली घरबाट समेत बजारिकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
१३ दिन सम्म चलेको तालिमको सहजीकरण सजना नकर्मी र कृपा नकर्मीले गर्नु भएको थियो । महिलाहरुको आर्थिक स्तर सुधारका लागि सन्चालन गरिएको उक्त सिपमुलक तालिममा रामपुर नगरपालिका भित्रका ४० जना महिला दिदिबहिनीहरुले पोते, माला, चुरा र औँठी बनाउन सिकेका छन् ।