दिल बहादुर खन्गाहा
निस्दी, पाल्पा । निस्दी गाउँपालिका वार्ड नं ७ पाल्पाको आयोजनामा वडास्तरीय मिनि बाल भेला सम्पन्न भएको छ ।
भेलामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले बालबालिका भबिस्यका कर्णधार भएकाले उनीहरुलाई राम्रो शिक्षादिक्षा दिएर भविष्यमा राम्रो मान्छे बन्न सक्ने बनाउनु पर्ने बताउनुभयो । उहाँले बालबालिकालाई पढाइका साथै सामाजिक र राजनीतिक चेतना दिनुपर्ने बताउदै अहिलेका बालबालिका भोलि यो देशको नेतृत्वतहमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका पालिका अध्यक्ष मुक्त बहादुर सारुले बालबालिकाको हकहित र अधिकारका लागि गाउँपालिकाले काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा वडाभित्रका ९ वटा बिद्यालयका ५०० बढी विद्यार्थी, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो । निस्दी गाउँपालिका वार्ड नं ७ का वडाध्यक्ष मुक्त पाटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु समेत वितरण गरिएको थियो ।