देवीनगर, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगर पाल्पामा आदिवासी जनजाति सचेतना तथा शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुदै पूर्वखोला गाउँपलिकाका प्रबक्ता एवं वडा नं. ४ का वडाध्यक्ष मेहर सिं थापाले आदिवासी जनजातिहरुको पहिचान र अस्तित्वको लागि उनीहरुको भाषा संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आदिवासी जनजातिहरुको भाषा संस्कृतिहरुको पुस्तान्तरणमा जोडदिनु पर्ने उल्लेख गर्दै विकृति र विसंगतिहरुलाई सुधार गरी सवल र सकारात्मक पक्षहरुको प्रवर्धन गर्न आदिवासी जनजाति अभियान्ताहरुलाई आग्रह गर्नु भयो ।

यस्तै आदिवासी जनजाति महासंघ समन्वय समिति पुर्वखोलाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले तालिमबाट ज्ञानहरु सिक्ने मात्र नभई सिकेको ज्ञान कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताउनु भयो । उहाँले राज्यको विभेदकारी नीति नियमका कारण आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिको संरक्षणमा चुनौति थपिएको बताउदै यसको संरक्षण एवं प्रवर्धन गर्न आदिवासी जनजातिहरु नै आ-आफ्नो स्थानबाट लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल वायुसेवा निगमका अधिकृत एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पाल्पाका पूर्व सचिव हरि बहादुर सारुले शहजिकरण गर्नु भएको थियो । उहाँले आदिवासी जनजातिहरुको ऐतिहासिक पृष्ठभूमि, भाषा कला र संस्कृतिको महत्व, यसको संरक्षणको आवश्यकता तथा नेपालको ऐन नियमहरुमा भएका आदिवासी जनजातिहरुको हक अधिकार लगायतको बारेमा प्रशिक्षण गर्नु भएको थियो ।

सचेतना कार्यक्रमकै अवसरमा विभिन्न टोलहरुलाई मादल, खैजडी, झ्याली, दम्फु र मजुरा प्रदान गरिएको थियो । आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व वोकेको विभिन्न प्रकारका नाच तथा कलासंस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्धेश्यले उक्त बाद्यबादनका सामग्रीहरु प्रदान गरिएको आदिवासी जनजाति कार्यक्रम देवीनगरका संयोजक रविन श्रेष्ठले बताउनु भयो ।
पूर्वखोला गाउँपलिकाकाको आर्थिक सहयोग तथा आदिवासी जनजाति गाउँ समन्वय समिति देवीनगरको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सन्तोष श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य भुवन सिंजालीले गर्नु भएको थियो ।