विष्णु जिसी
माथागढी, पाल्पा । सीघ्र प्रभावी योजना अन्तर्गत माथागढी परिसरमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उद्यान माथागढी गाउँपालिकालाई एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको छ । मध्यपश्चित पृतनापति उपरथी प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम चिदीलाई निर्माण सम्पन्न गरेको उद्यानको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल–अङ्ग्रेज युद्ध तथा नेपाल एकीकरणका बेलामा प्रयोग भएका ऐतिहासिक स्थलको प्रचार एवं संरक्षण गर्ने उद्देश्यले माथागढी गाउँपालिकाको वडा नं. ५ स्थित माथागढी परिसरमा ढुङ्गा बिछ्याउने र सौन्दर्यकरण गरेर पालिकालाई हस्तान्तरण गरिएको पुनले बताउनुभयो । उक्त संरचना निर्माण गर्न तानसेनस्थित दि फेमस महिन्द्र दल गणको अथक प्रयास रहेको समेत बताउनुभयो ।

सो अवसरमा माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले स्थानीय तह, सेना, प्रदेश र सङ्घीय सरकारले यस्ता संरचनाको विकास र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । ऐतिहासिक स्थलको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी दिन सकिने उहाँले बताउनुभयो । माथागढी ऐतिहासिक र सामरिक महत्वको स्थान भएकाले यसको विकास र संरक्षणमा पालिकाले समेत ध्यान दिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना सेनाले विपद्का बेलामा मात्र होइन, ऐतिहासिक स्थलको जगेर्ना र विकासमा ध्यान दिएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका २२ नं. बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका गणपति प्रमुख सेनानी भुपेन्द्र गुरुङ्, जिल्ला प्रहरी कार्यालय पाल्पा, शसत्र प्रहरी बल पाल्पा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।