विष्णु जिसी
झडेवा, पाल्पा । माथागढी गाउँपालिका–४ झडेवामा दलित समुदायका लागि नीतिगत व्यवस्था र नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।
तालिमको समापन कार्यक्रममा बोल्दै पालिका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामी थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउँदै प्राप्त ज्ञान र सीपलाई दैनिकीमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नु भयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रुकुर्मी सुनारी, वडा सदस्य होमबहादुर सारु, बिमला बिक लगायतले सिकेका कुरा व्यवहारमा लागू गरे मात्रै तालिमको औचित्य हुने बताउनुभयो। प्रशिक्षक कृष्ण दर्नाल, सुकुनराज अर्याल ,समाजसेवी विष्णु जिसी र दमन्ती सुधार लगायतले तालिमका कारण व्यवहारमा परिवर्तन ल्याउन सकिने र सिकेका कुरा आफ्नो दैनिक जीवनमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
सहभागी सुमन पोखरेल, विष्णु बिक, सुमित्रा बिक र कल्पना बरालीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता गर्नु भयो । कार्यक्रममा वडा नं. ४ का दलित समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम दलित समुदायको सशक्तिकरण, नीति निर्माणमा पहुँच अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित थियो। तालिमको सहजीकरण कृष्ण दर्नाल र सुकुन्दराज अर्यालले गर्नु भएको थियो ।
कार्यक्रम दलित उत्थान वडा समन्वय समितिकी अध्यक्ष अनिता नेपालीको अध्यक्षतामा तथा सचिव संगीता बिकको सञ्चालनमा सम्पन्न भएको थियो। तालिमले दलित समुदायमा सशक्तिकरण र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउने अपेक्षा लिएको छ।