तानसेन, पाल्पा । महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ तानसेन नगरपालिका– ३ भगवतीटोलका महिलाहरुका लागि सञ्चालित क्रिष्टलको चुरा, माला, लकेट र बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको टोलविकास संस्थाकी सदस्य जमुना पाण्डेले बताउनु भयो ।

तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले तालिमको समापन गर्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष शाक्यले सीप सिक्नु र त्यसको उपयोग गर्नु ठूलो कुरा रहेको बताउँदै महिलाहरूको सशक्तीकरणका लागि वडाको सधैव साथ रहने बताउनु भयो । तानसेन नगरपालिकाका सामाजिक शाखा प्रमुख भरत आचार्यले तालिमले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

वडा सदस्य लक्ष्मी पाण्डेले वडाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा पद्य पब्लिक नमूना माविका व्यवस्थापन समितिका अध्यक्ष पुस्करराज रेग्मी, विद्यालयका प्रअ विष्णु बराल, प्रशिक्षकहरु तुलसी गैरे घिमिरे, पञ्च शाक्य लगायतले सीप भएका व्यक्तिहरु त्यसै बस्न नपर्ने भन्दै सिकेका कुराहरुको उपयोग गरी स्वरोजगार बन्न महिलाहरुलाई आग्रह गरेका थिए ।

तालिम लिएपछि महिलाहरुले उत्साहित हुँदै तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्ने बताएका छन् । उनीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवसायिक ढंगले अगाडि बढाउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

पुरानो पानी टंकी टोलविकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा सञ्चालित तालिममा वडा भित्रका २२ वटा टोल विकास संस्थाका महिलाहरुको सहभागिता रहेका थियो । तालिममा तुलसी गैरे घिमिरेले क्रिष्टको माला, चुरा बनाउन र पञ्च शाक्यले बाटेको धुप बनाउन सिकाउनु भएको थियो । टोल विकास संस्थाकी अध्यक्ष रेनुका बस्यालको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद तिमिल्सीनाको स्वागत, सचिव हरीशंकर बस्याल र कोषाध्यक्ष अप्सरा बस्यालको सञ्चालनमा समापन सम्पन्न कार्यक्रम भएको थियो ।