राज कुमार आले
पूर्वखोला, पाल्पा । लोक सेवा तथा शिक्षक सेवा आयोग सम्बन्धी ६ दिने तयारी कक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका प्रायोजक र पूर्वखोला गाउँपालिका ३ नं वडा कार्यालय रिङ्गनेरह पाल्पाको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पालिका अध्यक्ष नुन बहादुर थापाले ज्ञान हासिल गर्न र सिकाईमा निखारपन ल्याउन आफु पहिला उत्प्रेरित हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो “विद्यार्थी जीवनमा सिकाईलाई निरन्तरता दिदै सफलतामा पुग्नु पर्छ” । त्यस्तै विशिष्ट अतिथि एवं पालिका उपाध्यक्ष भागिरथी भट्टराईले यो तयारी कक्षामा सिकेको कुरा व्यवहारमा उत्तार्नु पर्ने बताउनुभयो । यो कक्षाले विद्यार्थीलाई सार्थक जीवन जिउन र बनाउनमा सहयोग पुग्ने उहाँको दावी थियो ।

पूर्वखोला गाउँपालिका ३ नं वडाका अध्यक्ष कृष्ण प्रसाद भट्टराई र वडा सचिव गोमा पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा उद्बुद्ध कलेजका प्राचार्य हरि प्रसाद न्यौपने, वडा सदस्य बासुदेव ढकाल, प्रशिक्षार्थीहरु महेश राना र कृष्ण झापुर्लुक लगायतले यो तयारी कक्षाले विद्यार्थीहरुलाई आगमी लोकसेवा तथा शिक्षक सेवा आयोगको लागि मार्गदर्शक भएको धारणा राख्नु भयो ।

तयारी कक्षामा पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, लेखा अधिकृत सुमन भट्टराई, शाखा अधिकृत छकलाल आले र लेखा सहायक दिपक कुँवर लगायतले सहजिकरण गर्नु भएको थियो । उक्त तयारी कक्षामा उद्बुद्ध कलेज पूर्वखोलाका २८ जना विद्यार्थीहरु सहभागी भएका थिए । यस कक्षाको दौरानमा विद्यार्थीहरु बिच लिएको सिकाई जाँचमा आफुलाई अगाडि ल्याउन सफल आकृति पाण्डेय र समिप पाण्डेयलाई अध्यक्ष नुन बहादुर थापा र लेखा सहायक दिपक कुँवरले लोक सेवा तयारी किताब र डायरी प्रदान गरी हौसाला प्रदान गर्नु भएको थियो ।