राज कुमार आले
हेक्लाङ्ग, पाल्पा । चैत्र र बैशाख महिना सबैलाई मकै रोप्ने आत्तुरी हुनु स्वभाविकै हो । पाखो बारी अनि खेतमा मकै सबैले रोप्ने गरेको पाईन्छ यतिबेला । प्राय जसो पहाडमा यहि मौसममा मकै छर्ने गरिन्छ । आकासे पानी पर्ना साथ सबैलाई मकै छर्न आत्तुरी हुन्छ । कतै गोरु, कतै हाते ट्रयाक्टरको सहयोगबाट बारीमा मकै रोप्न भ्याई नभ्याई छ किसानलाई । तर पूर्वखोला गाउँपालिका वडा नं ६ हेक्लाङ्ग चेबुङ्घ भन्ने गाउँका किसानहरुले न त गोरु न त हाते ट्रयाक्टर आफ्नै बलवुताले भ्याएसम्म हातैले खनेर मकै रोपेका छन ।
बाँझो बारी अनि त्यही माथि पानी नपर्नु । अति साह्रो बारी हातको बलले खनेर मल राखी पानी पर्ना साथ मकै छरेका छन यहाँका किसानले । हातमा ठेला अनि पसिना चुहाउँदै यस वर्ष यहाँका महिला दिदी बहिनीहरुले पालै पालोसंग हातैले खनेर मकै रोपेका हुन । कुरा सन्दै अचम्म । अहिलेको आधुनिक समयमा ट्रयाक्टर, हाते ट्रयाक्टर तथा आधुनिक यन्त्रबाट जोत्ने कुरा हुदाँ पनि यस चेबुङ्घ गाउँमा केही वर्ष अगाडिसम्म परम्परागत रुपमा गोरुले जोतेर मकै रोप्दै आएको भएतापनि यहाँको महिला कृषकहरुले यस वर्ष आलोपालो काम गरेर आफ्नो बारीमा खनेरै मकै रोपेका छन् । किन मकै खनेरै रोपेका हुन त यहाँका महिला दिदीबहिनीहरुले ? यो प्रश्नले सबैलाई एक पटक सोच्न बाध्य बनाएको छ । तर अझ भन्ने हो भने यहाँ न त गोरु न त ट्रयाक्टर पहाडमा । अझै पुगेका छैन प्रविधि भन्ने कुराको चासो सबैमा पसेको छ यति बेला ।

वास्तवमा समय परिवर्तनसंगै गाउँ घरमा गोरु पाल्न छोड्दै गएको छ भने उता हाते ट्रयाक्टर चलाउन बल र तरिका चाहिने अर्को तिर पुरुष दाजु भाई रोजगारीको सिलसिलामा विदेश जानु परेका हुदाँ घर महिला दिदी बहिनीहरुले चलाउनु परेका कारणले यो समस्या आएको बताउँदै कृषक चुनिसरा गाहाले भनिन् हामीले खनेर मकै रोप्नु हाम्रो बाध्यता हो । त्यसो त भनेको बेलामा न त गोरु नत हाते ट्रयाक्टर त्यो भएपनि टाढा पल्लो गाउँबाट मगाउनु पर्ने । सबैको यो समयमा आ-आफ्नो आत्तुरी पालो पर्खिदा समय जाने भन्दै अर्का किसान उषा काम्मुले भनिन् खनेर मकै रोप्नुको विक्लप हामीलाई भएन् ।
महिलाले जोत्नु हुदैन भन्ने परम्परागत आस्था र धार्मिक विश्वास, अर्को तिर महिलाले जोत्दा खिसी गर्ने मजाक उडाउने र हास्ने कारणले अझ ठुलो समस्या परेको छ नेपाली समाजमा । साँझ विहान हातमुख जोर्नै पर्ने आफ्नो ईज्जत राख्नै पर्ने बताउँदै कृषक उषा काम्मुले भनिन् खनेर मकै रोप्नु हाम्रो रहर होईन बाध्यता बन्यो । यस गाउँमा करिब २७ घरधुरी रहेको छ । प्रत्येकको करिब एक देखि पाँच रोपनी जग्गा रहेको छ । एक्लैले मात्र मकै रोप्न गाह्रो हुने । यस वर्ष सामुहिक काम गरेर सबैको बेलैमा काम सक्ने गरी दैनिक रुपमा सबैको पालै पालो गरेर मकै रोप्ने कार्य सकाएका छन ।

गरे के हुदैन र ? आफ्नो काम आफैले नगरे कसले गरिदिन्छ र ? आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गरेर पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा सञ्चालित पूर्वखोला कृति तथा पशु विकास परियोजना अन्तर्गत लाली गुराँस स्वावलम्बि महिला समुहमा आवद्ध भए पछि यो सामुहिक काम गर्ने कुरामा यहाँका महिला दिदीबहिनीहरु अग्रसर भएका हुन । परियोजनाले सिकाएको सामुहिक काम आफैमा राम्रो हो । यसले काम सजिलो बनाउने बताउदै समुहका सदस्य माधुरी लामिछानेले भनिन् यस्तो कामले हाम्रो समुहलाई संगठित र बलियो बनाएको छ ।
जस्तो सुकै साह्रो र गाह्रो काम भएपनि त्यसलाई सजिलो बनाउने आधार भनेको सामुहिक एकता नै हो त्यसैले समाज परिवर्तन र विकासको आधार पनि यहि नै हो अब सबैले मनन् गर्ने होईन् त..?