विष्णु जिसी
झडेवा, पाल्पा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ मनाईएको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा माथागढी गाउँपालिकाले ६५ जना श्रमिकलाई सम्मान तथा ५११ जना श्रमिकको श्रमिक दुर्घटना बीमा गरेको छ ।

उक्त कार्यक्रममा बोल्नु हुँदै माथागढी गाँउपालिकाका अध्यक्ष यम बहादुर चिदिले भौतिक संमरचना, सडक बिस्तार जस्ता विकास निर्माण कार्य तिब्ररुपमा भए पनि जबसम्म श्रमिक खुशी हुदैनन तबसम्म बिकास भएको महसुस गर्न नसकिने बताउदै माथागढी गाँउपालिकाले श्रमिक सम्मान तथा बिमा कार्यक्रम मार्फत श्रमिकहरुलाई खुशी बनाउने प्रयत्न गरिएको बताउनु भयो ।

काम गर्ने स्थलमा दुर्घटना भएर श्रमिकको मृत्यु भएमा चार लाखसम्म वीमा रकम भुक्तानी पाउने गरी श्रमिकका लागि २० करोड ४४ लाख बराबरको दुर्घटना बिमा गरिएको अध्यक्ष चिदीले जानकारी गराउनु भयो । उहाँले दुर्घटना भएर उपचार गर्नुपरे १ लाखसम्म उपचार खर्च पाउने र अङ्ग गुमेमा चार लाखसम्म पालिकाभित्रका श्रमिकले आर्थिक रकम बिमा बापत पाउने समेत जानकारी गराउनु भयो ।

यस्तै श्रमिकको वीमा गर्ने वीमा कम्पनी आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख धुर्व प्रसाद कोईरालाले दुर्घटना वीमा गरेका व्यक्तिले आफू दुर्घटनामा परेपछि तत्काल कम्पनी वा पालिकामा जानकारी दिएर सेवा लिन आग्रह गर्नुभयो । उहाँले मृत्यु भएमा बिमा गरे बापत ४ लाख रुपैया बिमा रकम पाउनुका साथै सदगत गर्न १० हजार र काज क्रिया बापत ४० हजार समेत बिमा कम्पनीले उपलब्ध गराउने बताउनु भयो ।

पालिका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षता, वडा नम्बर ३ का अध्यक्ष तेज घर्तीको स्वागत र पालिकाका सुचना अधिकारी नित्यानन्द खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । १३६ ओैँ अन्तरराष्ट्रिय श्रमिक दिवसकै अवसरमा माथागढी गाँउपालिका वडा नम्बर ३ कसेनीमा “श्रमिक अन्तरक्रिया” कार्यक्रम समेत आयोजना गरिएको थियो ।