तानसेन, पाल्पा । कक्षा ७ मा अध्ययनरत १३ वर्षीय अनिकेतन भण्डारीले आफ्नो जन्मदिनको अवसरमा पाल्पा केयर सेन्टरमा आश्रित बालबालिकाको लागि खाद्यान्न तथा तातो–चिसो पानी आउने अत्याधुनिक फिल्टर सहयोग गर्नु भएको छ ।
लायन्स क्लब अफ पाल्पा रानिमहलका द्वितीय उपाध्यक्ष करुणा काफ्लेसँगको सहकार्यमा उहाँले उक्त फिल्टर सहित चामल, चिनी, चिउरा र तेल लगायतका सामान हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स एरिया चिफ महेन्द्रकुमार पोख्रेलले यस्तो सकारात्मक कार्यले समाजमा सद्भाव र मानवीयता फैलाउने उल्लेख गर्दै अनिकेतन भण्डारी बधाई दिनुभयो ।
यस्तै डे केयर सेन्टरका प्रमुख कृष्ण गहतराजले कार्यक्रमप्रति कृतज्ञता व्यक्त गर्दै सानै उमेरका बालकले आफ्नो जन्मदिन यति अर्थपूर्ण तरिकाले मनाउनु वास्तवमै प्रेरणादायी रहेको बताउनुभयो । यस किसिमको कार्यक्रमले अन्यलाई पनि सोच बदल्न प्रेरित गर्ने समेत बताउनुभयो ।

लायन्स क्लब अफ पाल्पा रानिमहलका द्वितीय उपाध्यक्ष करुणा काफ्लेले जन्मदिनको अवसरमा यस्तो उदाहरणीय कार्यबाट कसैको जीवनमा खुसी ल्याउन प्रयास गर्नु आफैमा उदाहरणीय कार्य भएको बताउनु भयो । सामाजिक कार्यमा बालबालिकाको सहभागिता हुनु समाजको उज्यालो भविष्यको संकेत रहेको बताउदै आगामी दिनमा पनि यस्तै सकारात्मक र रचनात्मक सामाजिक उत्तरदायित्वको कार्य भईरहनु पर्नेमा जोड दिनु भयो ।
लायन्स क्लब अफ पाल्पा रानीमहलका अध्यक्ष राजेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका निवर्तमान अध्यक्ष कोसिष भण्डारी, तुल्सी काफ्ले, उपाध्यक्ष मधुसुधन पराजुली, सदस्यहरू किरण अधिकारी, जीवन पाण्डे र पूर्णबहादुर थापा लगायतको उपस्थिति थियो।