रामपुर, पाल्पा । रामपुर नगरपालिका वडा नं. ७ पाल्पाका महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिला माथि हुने हरेक हिंसालाई कानुनी उपचार मार्फत समाधान गर्नु पर्ने बताउनुभयो । प्रमुख अतिथि समेत रहनु भएका थापाले व्यक्तिगत व्यवहार र आचरणका कारण घर परिवार र समाजमा हिंसा हुने भन्दै यसको न्यूनीकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले हिंसा रहित समाज र नगर निर्माणका लागि सबै नगरबासी प्रतिबद्ध भएर लाग्न समेत आग्रह गर्नु भयो ।
रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समाजमा व्याप्त हिंसाको न्यूनीकरणका लागि सचेत हुन आवश्यक रहेको बताउनु भयो । यस्तै चेमन प्रकाश पोखरेलले विकृतिले विभिन्न नकारात्मक घटना निम्त्याउने भन्दै नकरात्मक गतिविधिबाट पछाडि हट्नु पर्ने बताउनुभयो । उहाँले बाल विवाह र बहुविवाहका कारण महिला हिंसा बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भएको छ ।
वडा अध्यक्ष दोवराज तिवारीले वडामा महिला हिंसाका घटना बढ्नु चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले महिला हिंसाका कारण समाजमा आत्महत्या र सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको समेत उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक बाल कुमारी थापाको अध्यक्षतामा सम्पन्न तालिमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखाका प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसिका फोकल पर्सन सरस्वती पौडेलले गर्नु भएको थियो ।