रामपुर, पाल्पा । पूर्वी पाल्पाको रामपुर नगरपालिकाले सार्वजनिक सुनुवाई तथा चालु २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सम्पन्न गरेको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले चालु आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले विनियोजित बजेट मध्ये चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ३२ करोड ४ लाख ६ हजार २४३ रुपैयाँ ८२ पैसा र पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार विनियोजन भएकोमा ५ करोड १८ लाख ७६ हजार ३६६ खर्च भएको जानकारी दिनुभयो । नगर भित्र सञ्चालनमा रहेका ३८० योजना मध्ये २३५ वटा योजना सम्पन्न भएको समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा करीब ५र६ बर्ष अघि किनिएको फोहोर प्रसोधन मेसिन, फोहोरलाई मोहोर नारा मात्र सिमित, नगरपालीका द्धारा बितरण गरीएको बीउ गुणस्तर हिन भएको ,भौतिक संरचना गुणस्तरीय नभएको तथा शिक्षा स्वास्थ र रोजगारसङ्ग सम्बन्धित जिज्ञासाहरु उठेका थिए । त्यस्तै गरि सहकारी अनुगमन , घर नक्सा पास, नापी, कर र कालीगण्डकी डाइभर्सन लगायतका सवालहरु समेत उठान गरिएका थिए ।

सहभागीहरुले उठाएका जिज्ञासाहरुको उत्तर दिनु हुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन विरुद्ध रामपुर नगरपालिकाले सशक्त रुपमा आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले १० वटै वडामा समानुपातिक रुपमा विकासका योजनाहरु सञ्चालन गर्दै आएको स्पष्ट पार्दै फोहोर व्यवस्थापन नगरको चुनौतिको रुपमा देखिएकोले निरन्तर समाधानका प्रयासहरु भईरहेको उल्लेख गर्नु भयो । यस्तै विकास निर्माणका योजनाको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि सबैको साथ र सहयोगसंगै निगरानी आवश्यक रहेको बताउनुभयो ।

यस्तै ६ नं. विशेष नापी कार्यालयका प्रमुख दिपक यादव, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखा अधिकृत विकल काफ्ले, रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मी र कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले सहभागीहरुले उठाएका सम्बन्धित जिज्ञासा र प्रश्नहरुको जवाफदिनु भएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले गर्नु भएको थियो ।