काठमाडौ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त गर्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो ।

खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे ।

त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे र २-१ ले खेल जित्यो। ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।