बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको आयोजनामा रुपन्देहीको बुटवलमा दुर्लभ रक्तदाताहरुको तेस्रो भेला सम्पन्न भएको छ ।
भेला तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले संस्थाबाट रक्तदान जस्तो पुण्य कामका साथै रचनात्मक अभियानहरु चलाएको हुदा पालिका सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले ब्लड बैक स्थापनामा स्थानिय सरकार सहयोग र सहकार्य गर्न तत्पर रहेको समेत बताउनु भयो ।
भेलाले दुर्लभ रगत पनि सहजताका साथ उपलब्ध हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको आयोजकको दाबी छ । पछिल्लोसमय चितवन र काठमाण्डौका बिरामीहरुलाई समेत रगत उपलब्ध गराएको बताउदै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरुको हबका रुपमा बुटवल चिनिएको उल्लेख गर्नु भयो ।
दुर्लभ रक्तसमूहमा पर्ने १२७ जना रक्तदाताहरु सहभागी भएको कार्यक्रममा रक्तदानप्रति जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहन गर्ने र आपसी सञ्जाललाई मजबुत पार्ने विषयमा वृहत छलफल गरिएको संस्थाका उपाध्यक्ष उदयराज भट्टराईले बताउनु भयो । दुर्लभ रक्तसमूह भएका व्यक्तिहरूलाई संगठित गर्दै आपत परेको समयमा छिटो र सुरक्षित ढंगले रक्त आपूर्ति गर्ने लक्ष्यका आफुहरु अघि बढिरहेको संयोजक भगवती अर्यालले बताउनु भयो । यसैबिच २०८२ सालको भित्तेपात्रोमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।