तानसेन, पाल्पा । प्रभावकारी समावेशी सुशासन सुदृढीकरण कार्यक्रम अन्तर्गत निर्वाचित कार्यपालिका तथा वडा महिला सदस्यहरूका लागि तानसेनमा मेन्टरसिप कार्यक्रम आयोजना गरिएको छ ।
मेन्टरीङ सविता परियारले सहजीकरण गर्नु भएको कार्यक्रममा योजना तर्जुमा तथा प्राथमिकीकरण अभ्यास सम्बन्धी विषयमा मेन्टरीङ गरिएको थियो । शहजकर्ता परियारले योजना छनोट र कार्यान्वयनमा आवश्यक सीप तथा जानकारी प्रदान गर्नु भएको थियो ।
तानसेन नगरपालिका र द एशिया फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यले मेन्टरसिप कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिहरूलाई योजना छनोट र कार्यान्वयनमा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नु भयो।
तानसेन नगरपालिकाभित्रका महिला वडा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा द एशिया फाउन्डेसनका लुम्बिनी प्रदेश संयोजक चुरामणी पोखरेलले स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने र सेवा प्रवाह छिटो छरितो बनाउन मेन्टरिङ्ग कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आफूहरूले योजना छनोटदेखि कार्यान्वयनसम्मका प्रक्रियामा महत्वपूर्ण ज्ञान हासिल गरेको अनुभव बाँडेका थिए ।