तानसेन,पाल्पा । पाल्पाका निजामती कर्मचारीहरुले संघीय निजामती सेवा ऐन निर्माण गर्दा विगतमा भएका सम्झौता अनुसारको माग अनिवार्य समावेश गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिनिधिसभाका सभामुखसमक्ष ११ बुँदे ज्ञापनपत्र पठाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोजबहादुर राना, नेपाल निजामती कर्मचारी युनियनका सचिव ओमप्रकाश न्यौपाने, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका सचिव मोहन ज्ञवाली, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष राजीव न्यौपाने लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।
युनियनका सचिव न्यौपानेका अनुसार ७७ वटै जिल्लाबाट ज्ञापनपत्र पठाउने कार्यक्रम अन्र्तगत उक्त ज्ञापन पत्र बुझाईएको बताउनु भयो । कर्मचारी संगठनले पठाएको ज्ञापनपत्रमा सुशासन, पारदर्शिता, निष्पक्षता र जनउत्तरदायित्वमा आधारित सार्वजनिक प्रशासन निर्माणका लागि छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्न सरकारसमक्ष माग गरिएको छ ।
संघीय शासन प्रणाली सुरु भएको दशकपछि समेत संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको व्यवस्थापन गर्ने छाता कानुन अभाव रहेको उल्लेख छ । सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको चक्रमा परेको उल्लेख गर्दै आफूहरूका माग समेटि तत्काल ऐन जारी नभए सशक्त आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन् ।