माथागढी, पाल्पा । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको भविष्य नै अन्धकार हुने भन्दै माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी पाल्पास्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरुले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दवाब दिएपछि पठनपाठन शुरु भएकोे छ ।
उनीहरुले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दावाद, सक्छौं भने निजी विद्यालय बन्द गर भन्दै नारा लगाएका थिए । शिक्षकहरुका कारण विद्यार्थीहरुको भविष्य विग्रने पिर आफुहरुलाई रहेकाले अभिभावकहरु एक जुट भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ ।
विद्यार्थीहरुप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको र अभिभावकले समेत विद्यालय खोल्न दवाब दिएपछि बैशाख ९ गते देखि नियमित रुपमा पठनपाठ शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताउनु भयो ।
विद्यालय बन्द गरेर शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिदा देशभरका सामुदायिक विद्यालयहरुमा पढ्ने लाखौं विद्यार्थीहरुको पढाई प्रभावित भएको छ ।