तानसेन, पाल्पा । शिक्षा विभाग, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा शिक्षक कार्यक्षमता विकास , नवीनतम शिक्षण विधि तथा प्रविधि संयोजन विषयक एक दिने कार्यशाला तालिम सम्पन्न भएको छ ।

तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा. रामनाथ न्यौपानेले “पेशागत विकासका लागि शिक्षक सशक्तिकरण रणनीतिहरु“ विषयक सत्रमा शिक्षकमा आवश्यक हुने सिपहरु र पेशागत विकासका रणनीतिहरु प्रस्तुत गर्नुभयो । डा. न्यौपाने र सहयाक क्याम्पस प्रमुख सन्तोष खनालले “प्रतिवेदन लेखन संरचना र सिपहरु“ विषयक कार्यशाला सञ्चालन गर्नु भएको थियो ।

यस्तै स्वास्थ्य विभाग प्रमुख कृष्ण बहादुर जि सि ले “शिक्षण विधि र डिजिटल प्रविधि क्षेत्रको सिकाइ सम्बन्ध“ का बारेमा प्रशिक्षण दिनुभयो । अर्का प्रशिक्षक फ्याकल्टी मेम्बर गोपाल प्रसाद वश्यालले “सक्षम शिक्षकका कार्यगत विशेषताहरु“ सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्रिभुवन क्याम्पस पाल्पाका ४८ जना स्नातक विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रमको समापन सत्रमा बोल्दै क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले जीवन पर्यन्त सिकाइको सिद्धान्तका आधारमा शिक्षकले आफूलाई सँधै अध्ययनशील रहने, ज्ञानलाई अद्यावधिक राख्ने योजनावद्ध तरिकाले विषयवस्तु र शिक्षण कलाको ज्ञानलाई प्रयोग गर्नु आवश्यक रहेको बताउनु भयो ।

विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्यले नियमित पठनपाठनका अतिरिक्त विद्यार्थीलाई परिवर्तित सिकाइ सिपहरुसँग अद्यावधिक गर्न समयसमयमा प्राध्यापक र विद्यार्थीहरुक लागि यस प्रकारका कार्यक्रम गरिने बताउनु भयो । त्यसैगरी आफ्नो सिकाइ अनुभवहरु बताउँदै विद्यार्थीहरु मुना राना मगर र प्रमिला कुँवर क्षत्रीले कार्यक्रमबाट शिक्षण सिप, प्रतिवेदन लेखन र डिजिटल साक्षरताको उपयोग बारेमा जानकारी प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।

समापन कार्यक्रम सहायक क्याम्पस प्रमुख सन्तोष खनालको अध्यक्षता र फ्याकल्टी मेम्बर गोपाल प्रसाद वश्यालको सञ्चालनमा चलेको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते, आईतबार