विष्णु जिसी
माथागढी, पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले रम्भा, पुर्वखोला र माथागढी गाउँपालिकाका जनप्रतिनिधीसंग योजनाबारे छलफल गर्नुभएको छ ।
रम्भाको ताहुँ र माथागढीको झडेवामा सम्पन्न कार्यक्रममा मन्त्री सारुले चालु आर्थिक वर्षमा विनियोजित योजना सञ्चालनको अवस्था र आगामी आर्थिक वर्षमा छनौट र सञ्चालन गर्नुपर्ने योजनाबारे छलफल गर्नुभएको थियो । ताहुँमा आयोजित छलफल कार्यक्रममा रम्भा र पुर्वखोला गाउँपालिकाका जनप्रतिनिधीहरु सहभागी भएका थिए भने झडेवामा आयोजित कार्यक्रममा माथागढी गाउँपालिकाका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्नु हुदै मन्त्री सारुले निर्वाचन क्षेत्र नं. १ (ख) का लागि विनियोजित योजना जसरी पनि सम्पन्न गर्नुपर्ने उद्देश्यका साथ जनप्रतिनिधीसंग छलफल गरिएको बताउनुभयो । मन्त्री सारुले योजना छनौट गरी बजेट विनियोजन गरेर मात्र नहुने भन्दै प्रतिफल प्राप्तिका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिसंग नियमित फलोअप गर्नुपर्ने समेत बताउनुभयो । उहाँले नेपालको संघीयता लागु भएको संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
छलफलमा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी र उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र उपाध्यक्ष भागिरथी भट्टराई, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी र उपाध्यक्ष विष्णुमाया लुङ्चे, तीनवटै पालिकाका प्रवक्ताहरु, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सरोकारवालाहरुको सहभागिता थियो ।

छलफलमा लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजन भएका योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधीहरुले निर्माण व्यवसायी, उपभोक्ता समितिलगाएतसंग समन्वय गर्ने, समस्याको पहिचान गरि समाधान गर्न लागिपर्ने निर्णय गरिएको छ । त्यस्तै छलफलमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि योजनाहरु छनौट गरि गाउँपालिका मार्फत एकद्धार प्रणालीबाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुसंग योजना माग गर्ने निर्णय समेत गरिएको छ ।
प्रकाशित मिति :२०८१ चैत्र २४ गते, आईतबार