रामपुर । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाले नगर भित्रका सहकारी संस्थाहरुलाई सहकारीमा सुशासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधन सहितको सहकारी ऐन र प्रतिष्ठापन विद्येयक लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो।
नगरभित्र सञ्चालनमा रहेका सहकारीका सञ्चालक समिति र कर्मचारीहरु सहभागी भएको अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापाले
सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताउदै ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्नु भयो । प्रमुख थापाले रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम मार्फत उद्यमीहरुलाई व्याज अनुदान प्रदान गर्दै आएको जानकारी दिदै नगरपालिका सहकारी संग सहकार्य गरेर अघि बढ्न तप्पर रहेको समेत बताउनु भयो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक र सहकारी विचको फरक के हो भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताउनुभयो । सहकारीको विकल्प सहकारी नै भएको बताउँदै उहाँले राज्यले व्यवस्था गरेको नीति नियममा रहेर सुशासन कायम गर्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने बताउनु भयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताउनु भयो । यस्तै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीहरुलाई संघमा आवद्ध हुन आग्रह गर्नु भयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव वसन्त प्रसाद ढकालले गर्नु भएको थियो ।