तानसेन, पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र पहुँच योग्य स्थितिमा पुर्याउनका लागि आफुहरुले उपचारात्मक क्षेत्रमा सुधार गर्दै निरोधात्मक क्षेत्रलाई पनि विस्तार गर्ने गरी योजना बनाएको बताउनु भएको छ । उहाँले अस्पताललाई सुधार गर्ने र त्यसअनुसार व्यवस्थित गरेर अगाडि लिएर जाने प्रयत्न सरकारले गरिरहेको पनि उल्लेख गर्नु भयो ।

तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको समेत बताउनु भयो । अस्पताललाई व्यवस्थित गर्न बिमा व्यवस्थित हुन जरुरी रहेको भन्दै मन्त्री पौडेलले पहिलो कुरा नै बिमा व्यवस्थित बनाउने दिशामा मन्त्रालय लागेको उल्लेख गर्नु भयो ।

मन्त्री पौडेलले बिरामी बढाउने नभई बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यस तर्फ कामहरु गर्न जरुरी रहेको बताउदै नेपालीलाई रोग लाग्न नदिन के के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले कोशिस गरिरहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्ती मगर, प्रदेश सांसद तथा पूर्व मन्त्री विरबहादुर राना, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पाका व्यापार सङ्घका अध्यक्ष विष्णु कार्की लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, चैत २३, २०८१