तानसेन, पाल्पा । पाल्पा अस्पताल तानसेनले आफ्नो स्थापना कालपछि पहिलो पटक स्थापना दिवस मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गुँरास आत्रेयका अनुसार पहिलो पटक अस्पतालको वार्षिकोत्सव मनाउने क्रममा ११४ औँ वार्षिकोत्सव मनाईएको हो ।
अस्पतालको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालको चौतर्फी विकासका लागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न पहल गरिरहेको र त्यस्तो पहलले अहिले देखिने गरी उपलब्धी प्राप्त गरिररहेको समेत उल्लेख गर्नु भयो । उहाँले लोकतन्त्र स्थापनापछि विभिन्न सकारात्मक परिवर्तन गरेपनि त्यो अझैँ जनतामा महसुस हुने गरी पुर्याउन सबैको पहल हुनुपर्नेमा जोड दिनु भयो ।

वार्षिकोत्सवको अवसरमा लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलगायतले शुभकामना दिनुभयो ।
बार्षिकोत्सवकै अवसरमा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष निर्माणका लागि भवनको शिलान्यास समेत गरिएको छ । भवनको शिलान्यास गर्नुहुँदै स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आफू मन्त्री भएलगत्तै अस्पतालमा अनुगमनका क्रममा अप्रेसन र आकस्मिक कक्षको अभाव देखेपछि वजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । पाँच महिनाभित्र सक्ने गरी कुल ५६ लाख २५ हजार १७३ रुपियाँमा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

कार्यक्रममा अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साही अवसरमा अस्पतालमा विगतमा र हालको अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्नुहुने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष आत्रेयको अध्यक्षता, समितिका सदस्य एवं तानसेन वडा नं. ११ का वडाअध्यक्ष यादवसिंह कार्कीको स्वागत र समितिका सदस्य शशी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र १४, गते बिहिबार