काठमाडौँ । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बुधबार १५ वर्षमुनिका विपन्न बालबालिकाको उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । अस्पतालको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका मन्त्री पौडेलले आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गर्नुभएको हो ।
अस्पतालका कार्यकारी निर्देशक रवि मल्लले आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भन्ने उद्देश्यले अस्पतालको आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरिएको बताउनुभयो । कार्यकारी निर्देशक मल्लले हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार सहायता दिंदै आइरहेको जानकारी दिनुभयो ।
उहाँले उपचार लिनेको सङ्ख्या दैनिक बढेको भन्दै केन्द्रले आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रिया सहितका सेवा उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । यो वर्ष पुस महिनासम्म ४८० बालबालिकाले गङ्गालाल हृदय केन्द्रबाट शल्यक्रिया सहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोऊन् भन्ने आफुहरुको चाहना भएको उल्लेख गर्नु हुँदै मन्त्री पौडेलले यसका लागि थप स्रोतको खोजीसमेत गरिने बताउनु भयो । सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहसँग समेत सम्झौता गर्ने निर्णय गरेको छ । नेपालमा एक हजार बालबालिकामध्ये आठ देखि दश जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ । प्रकाशित मिति २०८१ चैत्र १४ गते, बिहिबार