गुल्मी । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले कारागार कार्यालय गुल्मीमा रहेका कैदीबन्दीलाई १५ दिने काष्ठकलासम्बन्धी सीपमूलक आधारभूत तालिम प्रदान गर्न थालेको छ ।

विभिन्न कारणले कैद भुक्तान गरिरहेका व्यक्तिहरूलाई सीप सिकेर आय–आर्जनमा जोड्ने उद्देश्यले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय गुल्मीको समन्वयमा काष्ठकलासँग सम्बन्धी सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सीप सिकाउन लागिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले बताउनुभयो । कैदीबन्दीले हालसम्म सिकेको काष्ठकलासम्बन्धी सीपमा थप स्तरोन्नति गर्नका लागि तालिमको आयोजना गरिएको हो ।

कैदीबन्दीले कैद भुक्तान गरिसके पश्चात् उनीहरूलाई उद्यमशील बन्न निकै सहज हुने अपेक्षा लिएको उहाँले बताउनु भयो । आगामी दिनमा यससम्बन्धी थप स्तरोन्नती तालिमका लागि कार्यालयले पहल गर्ने समेत बताउनुभयो । कैदीबन्दीहरूको पुनर्स्थापना गर्ने जिम्मा तीन तहका सरकारको भएको हुँदा रेसुङ्गा नगरपालिका पनि कैदीबन्दीहरूको पुनर्स्थापनाका लागि प्रतिबद्ध रहने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमले निकै टेवा पुर्‍याउने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । यहाँ रहेका कैदीबन्दीलाई उद्यमशीलतासँगै सीपमूलक कार्य र श्रमसँग जोड्न थालिएको उहाँले बताउनुभयो । यहाँबाट विभिन्न प्रकारका फर्निचर सामानको उत्पादन र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले कैद भुक्तानी गरेर बाहिर निस्केपश्चात् उद्यमशीलतामा लाग्नुका साथै जीवनयापनमा समेत तालिमले सहज हुने बताउनुभयो ।

सीप भए परनिर्भरता हट्छ, सीपलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । यहाँ उत्पादित मुढा, ढाका र फर्निचर आदिबाट मासिक सरदर ६० देखि ८० लाख रुपियाँसम्मको कारोबार हुने गरेको छ । सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवाहरूलाई कारागारभित्रै सीप अनुसारको उद्यमसँग जोड्न सकिएको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले बताउनुभयो ।

२५ जनाको क्षमता रहेको यस कारागारमा ११० जना कैदीबन्दी रहेका छन् । जसमा पुरुष कैदी ६५ जना, महिला कैदी पाँच जना, थुुनुवा पुरुष ३८ जना र थुनुवा महिला एक जना रहेको जेलर पन्थीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते, बुधबार