विष्णु जिसी
झडेवा, पाल्पा । माथागढी गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षको कुल योजनामध्ये ४७ प्रतिशत काम भएको र कुल ३५ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरेको छ । झडेवा पाल्पामा सम्पन्न माथागढी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त प्रगति प्रतिबेदन सार्वजनिक गरिएको हो ।

चालु आव २०८१/०८२ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको बारेमा जानकारी गराउदै प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले गाउँपालिकाले अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व लिने काम गरेको, शिक्षक तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्ने काम गरेको समेत उल्लेख गर्नुभयो । यस्तै देवगीरदेखि झडेवा फाँटसम्मको सडक स्तरउन्नति गर्ने काम भइरहेको, पालिकाको प्रशासकीय भवन निर्माणको काम अगाडि बढाएको तथा उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेको लगायतका कार्यक्रमहरूको बारेमा पनि जानकारी दिनुभएको थियो ।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जनताको सेवासुविधालाई केन्द्रमा राखेर पालिकाले विभिन्न योजना अगाडि बढाएको बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाईले जनता र पालिकाको बीचमा सम्बन्ध थप सुदृढ हुने र सेवा प्रभावकारी बन्ने उल्लेख गर्दै माथागढी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमकितामा राखेर वजेट तथा कार्यक्रम बनाएको बताउनुभयो । यस्तै कृषि, पशुपालन, स्थानीय उत्पादनलाई महत्व दिएर पालिकाले लगानी गरेको समेत बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव मधु पराजुली, नेकपा एमालेका जिल्ला सदस्य पूर्णबहादुर सारु, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि प्रकाश जिसी, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष गोविन्दप्रसाद भट्टराई, तुल्सीराम भुसाल, ताराबहादुर सारु, लक्ष्मी न्यौपाने र देउबहादुर कुँवरलगायतले उत्पादनका आधारमा दिने कृषि अनुदानलाई प्रभावकारी बनाउनपर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरणमा सहजीकरण गर्नु पर्ने तथा विभिन्न योजना सम्पन्न गर्दा दीगो विकासमा ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा तथा प्रश्नमाथि प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, कृषि तथा पशुसेवा शाखाका प्रमुख गौतम थापा लगायतले प्रष्ट पार्नुभएको थियो । कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता र पत्रकार नवराज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र १२ गते, मंगलबार