आरके थापा
तानसेन, पाल्पा । तानसेन र पाल्पाको विकासमा विभिन्न क्षेत्रबाट योगदान गरेका ३५ जनालाई नगरपालिकामा गठित तानसेन नगर प्रज्ञा प्रतिष्ठानले नगद, सम्मानपत्र र पाल्पाली ढाकाले सम्मान गरेको छ ।
भाषा साहित्य, कला संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग पर्यटन, स्वास्थ्य रीतिरिवाज तथा समाजसेवा लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई तानसेन नगरप्रमुख तथा नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली र नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले नगद १० हजार, सम्मानपत्र, तक्मा र पाल्पाली ढाकाको दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

पाल्पाको तानसेनमा सम्पन्न कार्यक्रममा साहित्यकार अजम्बरध्वज खाती, कलाकार तथा चित्रकार एवं साहित्यकार अशोकमान सिं, कृष उद्यमी केशव कार्की, ढाका उद्यमी हरिकृष्ण कार्की र गंगाराम नेपाल, शिक्षा तथा स्वास्थ्यसेवी गोपाल बहादुर पोखरेल, शिक्षा तथा समाजसेवी झमानसिं दर्लामी, शिक्षा तथा पर्यटनउद्यमी टुकबहादुर अर्घाली थापालाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाले सम्मान गरिएको थियो ।
यसैगरी शिक्षाविद् तथा समाजसेवी देवप्रसाद बज्राचार्य, द्धारिकाप्रसाद शर्मा, बुद्धीप्रसाद शर्मा, राधाकृष्ण शर्मा, प्रा.डा. सावित्री कक्षपति, सुशीला श्रेष्ठ, साहित्यकार वनमाली निराकार, विजय सागर, राजेन्द्र गोपाल सिंह, डा. नारायणप्रसाद शर्मा गैरे, मन गहिरे, रजिउल्लाह खाँ स्वास्थ्यसेवी विश्वमान बज्राचार्य, डा. रचेल कारख, लोकमान शाक्य, पर्यटन उद्यमी सावित्रा भुसाल, धनिश्वर बस्याललाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

अभिनेता तथा चलचित्रकर्मी नायक धीरेन शाक्य, संगीतकर्मी तथा संस्कृतिविद् महेश देउराली, मदन देउराली, भरत देउराली पत्रकार मेघराज शर्मा, गायक कलाकर्मी मीना नेपाली (गैरे), धातुकला उद्यमी मंगलप्रसाद बज्राचार्य, प्रदीपकुमार बज्राचार्यलाई समेत उक्त कार्यक्रmमा सम्मान गरिएको थियो । यस्तै तानसेनको शिक्षा, पाल्पाली ढाका, करुवा लगायतका क्षेत्रबाट देश तथा विदेशमा ख्याती कमाउन सफल व्यक्तित्वलाई समेत सम्मान गरिएको छ ।
सोही कार्यक्रममा पाल्पाली ढाकाकी संस्थापक ८७ वर्षीय पूर्णमाया महर्जनलाई ६८ हजार नगदसहित सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिएको छ । लुम्बिनी प्रदेशभित्र साहित्य क्षेत्रमा पुस्तक प्रकाशन गरी योगदान गर्ने एक जनालाई पनि पुरस्कार प्रदान गरिने तानसेन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव दुर्गा थापाले जानकारी दिनु भयो ।
प्रकाशित मिति : २०८१ चैत्र १२ गते, मंगलबार