तानसेन, पाल्पा । नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाल्पाको पर्यटन प्रवर्द्धनका लागि यातायात व्यवसायीहरू पर्यटनमैत्री हुनुपर्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघद्वारा आयोजित कार्यक्रममा बोल्नु हुदै उहाँले यातायात क्षेत्रको सुधारले पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो ।
सभापति श्रेष्ठले पाल्पा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध जिल्ला रहेको उल्लेख गर्दै पाल्पाको पर्यटकीय विकासका लागि यातायात व्यवस्थापन सुदृढ बनाउनु अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा उहाँले यातायात व्यवसायीहरूले पर्यटकलाई सहज, सुरक्षित, र भरपर्दो सेवा दिन आग्रह समेत गर्नुभयो । यात्रुहरूसँग सौहार्दपूर्ण व्यवहार, सवारी साधनको स्वच्छता, उचित भाडादर निर्धारण, तथा सूचना प्रवाह प्रणाली सुधार गर्नुपर्ने आवश्यकतामा ध्यानाकर्षण गराउदै सभापति श्रेष्ठको पाल्पाको पर्यटन विकासका लागि यातायात व्यवसायीहरूले पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउन आधुनिक परिवहन व्यवस्थापन प्रणालीसँग जोडिन आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण नेपालका केन्द्रीय उपाध्यक्ष उमाशंकर खड्काले उपभोक्ताका हकहित संरक्षण गर्न जिल्ला प्रशासन, स्थानीय सरकार, र विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ताहरूलाई सुरक्षित, भरपर्दो, र गुणस्तरीय सेवा प्रदान गर्न सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउदै नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघले यशतर्फ सकारात्मक कदम चाल्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका जिल्ला अध्यक्ष नीलकण्ठ देवकोटाले यातायात व्यवसायीहरू, प्रशासन, र सरोकारवालाबीच समन्वय गरी यातायातका समस्या सुधार गर्नुपर्ने बताउनुभयो ।
प्रकाशन मिति २०८१ चैत्र १२ गते मंगलबार