रिब्दीकोट, पाल्पा । लुम्बिनी प्रदेश सरकारबाट हस्तान्तरित विपन्न वर्ग उत्थान कार्यक्रम अन्तर्गत रिब्दीकोट गाउँपालिका वडा नं. ६ मा विपन्न वर्गका स्थानीय नागरिकहरूलाई लेयर्स (अण्डा दिने) कुखुरा तथा दाना वितरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सरकारको उद्देश्य आर्थिक रूपमा पछाडि परेका वर्गलाई आत्मनिर्भर बनाउनु रहेको उल्लेख गर्दै वितरण गरिएका कुखुरा तथा दानालाई उपयुक्त रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विपन्न वर्गलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम रहेको बताउनुभयो । सरकारले वितरण गर्ने अनुदान तथा सहायता सही तरिकाले उपयोग गर्न सकेमा नागरिकहरूको जीवनस्तरमा सुधार आउन सक्ने बताउदै उहाँले अनुदानको सहि रूपमा प्रयोग गरि जीवनस्तर उकास्न नागरिकहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष प्रकाश रायमाझीले गाउँपालिकाको योजना तथा सरकारको नीतिअनुसार विपन्न वर्गलाई रोजगारी र आर्थिक सुधारका अवसरहरू उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले स्थानीय स्तरमा सीपमूलक तथा आयआर्जनमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममार्फत स्थानीय उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।          प्रकाशन मिति : २०८१ चैत्र १२ गते मंगलबार