अग्लो डाँडो
सिरुपाते उकालो
पातीले बारेको एक्लो घर
टुकीको उज्यालोमा हुर्किएका हामी
बाबा सधैंका विरामी
आमाको तुनेलो घरकै
दाइ परदेशको नागरिक झैं
भाउजू नानीबाबु पढाउन सहर
एक हल पाखोबारी
हाम्रो घरको हुलिया यस्तै यस्तै थियो
म पढ्दै थिएँ
गाउँकै उच्च माविमा
भाइले आठ पास गरेर नौं पढ्दै थियो
गाउँमा युद्धको आगो सल्कियो
म बाध्यताले जंगल पसें
भाइ सहर पस्यो
आमाबाबाको दैनिकी कसरी बित्यो हेक्का भएन !
म युद्धले संसार जित्ने सपना बोकेको मान्छे
एकदिन युद्धमा
भाइ प्रहरीको मोर्चाबाट लड्दै रहेछ
म मुक्तिमोर्चाको लडाकू बनेर
घमासान लडाइँ भो
हामी आम्नेसाम्ने भइयो
कति साथीहरुले शाहदत्त प्राप्त गरे
शहीद भए
प्रहरीहरुले नि ज्यान फाले
उनीहरु गद्दार थिए हाम्रा लागि
युद्ध रोकियो
शान्ति सम्झौता भयो
अनमिनबाट असक्षम ठहरिएँ
थोरै रकम बुझेर घर फर्के
बाबाले संसार छोडि सकेका रहेछन्
भाउजू उतै सहरतिर
आमालाई सेतो वस्त्रमा देख्दा आँसु थामिएन
शान्ति सम्झाैतापछिका
थुप्रै वर्ष भाइ घर आएन
खोइ किन आएन ?
विदा मिलेन कि ?
कि मलाई दुश्मन देखि रह्यो ?
गएको वर्ष भाइ तिहारकै दिन आइपुग्यो
मैले मखमलीको माला उनें
ओखर फोेरें ढोकामा
टीका थाप्न भाइ बस्यो मेरो अघि
मैले सप्तरंगी टीकाको थाली लिएर बसें
म झसंग भएँ त्यतिबेला
जब भाइको निधार सग्लो थिएन
अनि मेरो बुढी औंला पनि
थाहै भएन मलाई
त्यही युद्धमा
मेरो राइफलको गोलीले उसको निधार फोरिएको रहेछ
अनि उसकै बन्दूकको गोलीले
मेरो दाहिने हातको बुढी औंला गुमेको पनि
धेरै बेर रोएँ म
भाइ पनि रोयो अघोरै
हामीले अंगालो मारेर तिहार मनायौं
आमाले
हाम्रो अंगालोलाई
स्नेहिल प्रेमसंगै
तेलको घेरोले एक फन्का लगाइन् ।
हामीले आँसुको सेलरोटी पकायौं
सकेनौं खुसीका टीका लगाउन
भाइले मेरो गुमेको बुढी औंला खोजी रहयो
जसले निधारमा टीका लगाइ रहन्थ्यो
मैले उसको सग्लो निधार खोजि रहें
जहाँ मैले टीका लगाइ रहन्थे ।