विष्णु जिसी
चिदीपानी, पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा वडा नं. १ चिदीपानी पाल्पामा सरोकारवालाहरुका लागि आत्महत्या न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण, नसर्ने रोग तथा मानसिक रोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष यम बहादुर चिदीले नसर्ने रोगको बढ्दो प्रकोप दर, मानसिक स्वास्थ्य, सडक दुर्घटना र आत्महत्याको कारण समाज प्रभावित भएको तथा नसर्ने रोगको उपचार धेरै खर्चिलो मात्र नभई जीवन भर उपचार गर्नुपर्ने झन्झट र यसले विरामी स्वयं तथा घरपरिवारमा पार्ने असरलाई कम गर्ने उपायहरु लगायतको बारेमा प्रशिक्षित गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यस्तै माथागढी १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले कार्यक्रमका सहभागीहरु समुदायका अगुवा भएकोले आत्महत्या, सडक दुर्घटना न्यूनिकरण, सर्ने तथा नसर्ने रोगका बिषयबस्तुमा जानकार भई समाजमा सचेतना फैलाउन भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो।

मेडिकल अधिकृत डा. विवेक पौडेल, स्वास्थ्य शाखा प्रमुख केशव जिसि र प्रहरी सहायक निरीक्षक चुरामणी अधिकारी लगायतले सहजीकरण गर्नुभएको कार्यक्रममा माथागढी १, २ र ३ का जनप्रतिनिधि, बिद्यालयका शिक्षक, सहकारी संस्थाका प्रतिनिधी, स्थानीय संचारकर्मी तथा परम्परागत उपचारमा संलग्न ब्यक्तीहरु सहभागी हुनुभएको थियो ।